काठमाडौँ । काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर हटेसँगै सबैखाले सवारीसाधन गुड्न थालेका छन् ।
जोरबिजोर हटेसँगै सवारीसाधनमा यात्रुको चाप घटेको छ भने उपत्यकाका सडकमा सवारीको चाप बढेको छ । जोरबिजोर लागू हुँदासमेत सवारी साधनको चाप बढेको काठमाडौँ उपत्यकामा फेरि जामको समस्या पूर्ववत अवस्थामै पुगेको छ । कार्यालय समय र छुट्टीको समयमा उपत्यकामा धेरै जाम हुँदै आएको छ ।
यद्यपि जोरबिजोर लागू हुँदा सीमित सवारीसाधनमा हुँदै आएको यात्रुको चाप घट्ने अपेक्षा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । अब यात्रु तथा सवारीसाधन सञ्चालकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन तीब्र पारिने प्रजिअ पराजुलीले बताए ।
बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने सहमति भएको थियो । जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी र मजदूरहरुले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएसँगै प्रशासन आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको थियो । बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नेछन् ।