गौतमबुद्ध कप मङ्सिर २७ देखि शुरु

Bhuwan Chaulagain 10 December 2020

चितवन ।  भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो ।

प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।


वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन्। यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् ।  प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने अधिकारीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0