रोकियो कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

Bhuwan Chaulagain 1 November 2020

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।

आज  मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका छन् ।

नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।


तर, ओली–प्रचण्डले थप निर्णय नलिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही आफूले गरेको सहमति कार्यान्वयन गर्नबाट रोकिएका थिए । कर्णालीका नेताहरुसँग छुट्टा(छुट्टै बसेका ओली र प्रचण्ड बीच पनि विवाद हल गर्नेबारे सहमति नजुटेपछि मुख्यमन्त्री शाही अगाडि बढ्न खोजेका छन् ।

तर, प्रचण्डको निर्देशनपछि ओली पक्षका दुवै मन्त्रीलाई मुख्यमन्त्री शाहीले आजै हटाउने तयारी भने रोकिएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरेको छ ।  ४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0